भूकम्पको पाँच वर्षपछि थपिए १७ सय लाभग्राही

0
32
Ads

आगामी १२ वैशाखमा विनाशकारी भूकम्प गएको पाँच वर्ष पूरा हुन्छ । तर, अहिले पनि भूकम्पले भत्किएको घर पुनर्निर्माण गर्नुपर्ने लाभग्राही थपिने क्रम रोकिएको छैन । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले मंगलबार एक हजार सात सय पाँचजना नयाँ लाभग्राही थपेको छ । प्राधिकरणको कार्यकारी समितिको बैठकले १३ हजार तीन सय ८५ वटा गुनासा सम्बोधनका क्रममा प्रवलीकरणतर्फ पनि थप चार सय ८५ लाभग्राही थपेको छ ।

अब निजी आवास पुनर्निर्माण गर्न चाहने लाभग्राहीको संख्या आठ लाख २८ हजार ६ सय २७ पुगेको छ भने प्रबलीकरणतर्फ लाभग्राही संख्या ७५ हजार नौ सय ३० पुगेको छ । तर, अझै ४७ हजार आठ सय ७७ ले अनुदान सम्झौता नै गरेका छैनन् । प्राधिकरणका सहप्रवक्ता मनोहरि घिमिरेले भने, ‘अब नयाँ थपिएकासहित अनुदान सम्झौता गर्न बाँकी लाभग्राहीले चैत्र मसान्तभित्र अनुदान सम्झौता गरी पहिलो किस्ता, असार मसान्तभित्र दोस्रो किस्ता र मंसिर मसान्तभित्र तेस्रो किस्ता बुझिसक्नुपर्छ ।’

प्राधिकरणको कार्यकारी समिति बैठकले ०७५ र ०७६ मा पुनः जाँच तथा छुट सर्वेक्षण गरिएका एक लाख ८२ हजार तीन सयमध्ये १७ हजार एक सय ६ जना लाभग्राही सूचीमा राखेको उनले बताए । यस्तै, आठ हजार तीन सय आठ प्रबलीकरण लाभग्राही कायम भएका छन् । बाँकी केही गुनासामाथि भने अझै पनि छलफल भइरहेकाले विश्लेषण गरी चैत मसान्तभित्र नतिजा प्रकाशित गरिने सहप्रवक्ता घिमिरेले बताए । प्राधिकरणले तीन सय ५९ प्रबलीकरण लाभग्राहीलाई पुनर्निर्माण लाभग्राही कायम गरेको छ ।

४२ सयले पहिलो किस्ता लगेनन्
लाभग्राही सूचीमा रहेकामध्ये पाँच लाख ४९ हजार दुई सय ३२ लाभग्राहीले निजी आवास पुनर्निर्माण सम्पन्न गरी तेस्रो किस्ताबापतको रकम बुझेको घिमिरेले बताए । तर, निजी आवास पुनर्निर्माणको लाभग्राही सूचीमा परेर अनुदान सम्झौता गरे पनि चार हजार दुई सय २३ जनाले भने पहिलो किस्ता नै बुझेका छैनन् ।

अनुदान सम्झौतापछि लाभग्राहीले आवश्यक कागजात पूरा गरी पहिलो किस्ताबापतको ५० हजार रुपैयाँ पाउँछन् । पहिलो किस्ता बुझेर घरको जग निर्माण गरेपछि प्राधिकरणले दोस्रो किस्ताबापतको एक लाख ५० हजार रुपैयाँ अनुदान दिन्छ । तर, पहिलो किस्ता लिएका एक लाख ३५ हजार पाँच सय ९८ ले पहिलो किस्ता बुझे पनि दोस्रो किस्ता लगेका छैनन् ।

#nayapatrika bata

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्